बेलायत – बेलायतमा तीन दशकयताकै हिजो शुक्रबार आएको ‘यूनिस’ नामको शक्तिशाली आँधीका कारण जनजीवन प्रभावित बनेको छ । आँधीका कारण तीन जनाको ज्यान गएको बीबीसीले जनाएको छ । मृत्यु हुनेमा ३० वर्षीया महिला, २० वर्षीय र ५० वर्षीय पुरुष रहेका छन् ।

१ सय २५ माइल प्रतिघण्टाको वेगमा आएको आँधीका कारण लन्डनका साथै पूर्वी र दक्षिण पूर्वी इङ्ग्ल्याण्डका कयौँ क्षेत्र नराम्रोसँग प्रभावित भएका छन् । आँधीका कारण सयौँको सङ्ख्यामा उडानहरू तथा रेल सेवाहरू रद्द भएका छन् ।

पूर्वी लण्डनमा रहेको विश्व प्रशिद्ध ओटु एरीना भवनको छाना हावाले क्षतविक्षत बनाएको थियो । मिलिनियम डोमको रूपमा रहेको उक्त भवन सन् २००० खोलिएको थियो । सन् २००७ मा ‘ओटु’ नामकरण गरिएको सो भवनमा ठूला ठूला कन्सर्ट तथा स्पोर्टस इभेन्टको आयोजना हुने गरेको थियो । त्यहाँ सिनेमा लगायत अन्य थुप्रै पसल तथा रेष्टुरेन्टहरु सञ्चालन हुँदै आएका छन् । उक्त भवनका आर्किटेक्ट रिचार्ड रोजरको गत डिसेम्बरमा निधन भएको थियो ।

तीव्र गतिमा बहेको हावाका कारण कतिपय स्थानमा रुख र बिजुलीका खम्बाहरू ढलेका, सडकमा लरी पल्टिएका छन् । आँधीकै कारण बेलायतका करिब दुई लाख घरहरूमा विद्युत् सेवा अवरुद्ध भएको छ । सरकारले अति आवश्यक परेको खण्डमाबाहेक घरबाहिर ननिस्किन र अनावश्यक यात्राहरूलाई कटौती गर्न सर्वसाधारणलाई अपिल गरेको थियो ।

हावाको तीव्र वेगका कारण प्लेनहरू अनियन्त्रित भएका तस्बिर र भिडियोहरू निकै भाइरल बनेका छन् । सडक आसपासका कैयौँ रुखहरू ढलेर सवारी साधनलाई क्षति पु¥याएको छ । बीबीसी