काठमाडौं – नेपालले आज शनिबार आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट ए अन्तर्गत फिलिपिन्सविरुद्ध खेल खेल्दैछ । अल अमेरात क्रिकेट मैदानमा नेपाल र फिलिपिन्सबीचको खेल बिहान ११ः४५ बजे सुरु हुनेछ ।

छनोटको समूह ‘ए’ मा रहेको नेपालले आज फिलिपिन्सलाई हराउँदै लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । नेपालले फिलिपिन्ससँग पहिलो पटक खेल्न लागेको हो ।

नेपालले शुक्रबार भएको पहिलो खेलमा ओमानलाई ३९ रनले पराजित गरेको थियो । नेपाल २ अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ । यता, क्यानडासँग पराजित भएको फिलिपिन्स भने पहिलो जितको खोजीमा रहेको छ । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले दुवै समूहबाट सेमिफाइनलमा स्थान बनाउनेछन् ।

सेमिफाइनल खेलहरु फेब्रुअरी २२ मा हुनेछ भने फाइनल फेब्रुअरी २४ मा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ । फाइनल प्रवेश गर्ने दुबै टोलीले अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि स्थान बनाउनेछन् ।