फाइल तस्वीर

काठमाडौं – अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) को विषयमा सत्ता गठबन्धन दलको साझा धारणा बनाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठक विना निश्कर्ष टुङ्गिएको छ । यसै विषयमा पुनः छलफल गरेर अन्तिम टुङ्गोमा पुर्याउन गठबन्धनको अर्को बैठक आइतबार बिहान बस्ने गरी सकिएको छ ।

प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँगै गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, माओवादी अध्यक्ष प्रचण्ड, समाजवादीका अध्यक्ष नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु बैठकमा उपस्थित हुनुहुन्थ्यो । सत्ता गठबन्धनको बैठकअघि एमसीसीका विषयमा साझा धारणा बनाउन माओवादी केन्द्रका अधयक्ष प्रचण्ड निवास खुमलटारमा प्रचण्ड, नेपाल र यादवबीच केहीबेर छलफल भएको थियो ।

सत्ता गठबन्धनका दलहरुले नै एमसीसीबारे फरक–फरक धारणा राख्दै आएका छन् ।नेपाली काङ्गेस नाफा घाटा नहेरी संसद्बाट एमसीसी लाई अनुमोदन गर्ने पक्षमा रहेको छ भने नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी यथास्थितिमा संसदमै टेबुल गर्ने पक्षमा छैनन् । राष्ट्रिय जनमोर्चा एमसीसी पूर्णरुपमा खारेज गर्नुपर्ने पक्षमा रहेको छ भने जनता समाजवादी दल भित्र पास गर्ने र नगर्ने विवाद भैरहेको छ ।

एमसीसी प्रकरणलाई लिएर सत्ता गठबन्धन दलबीचको विवाद सतहमै आएको छ । यसले सत्ता गठबन्धनमा धाँजा फाट्ने सम्भावना बलियो हुँदै गएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले गठबन्धन दलभित्रको विवादलाई ‘क्यास’ गर्न मौका हेरिरहेको छ । सत्ता गठबन्धन दलहरु एमसीसीको विषयमा देखिएका र सत्ताबाट बहिर्गमन हुने आङ्कलन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा हिजो साँझ शरण खोज्दै ओली निवास बालकोटमा पुग्नु भएको थियो ।

बालकोटको शरणमा पुग्नु भएका प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीबाट कुनै ठोस निर्णय नआएपछि निराश बन्दै फर्किनु भएको छ । यदि गठबन्धन भत्किए आफ्नो नेतृत्वमा सरकार बनाउन ढोका खुल्ने ओलीको बुझाइ छ । एमसीसी प्रकरणलाई थाति राखौं अमेरिकालाई दिएको आश्वासन पूरा नहुने र उसँगको दूरी बढ्ने, एमालेलाई साथ लिउँ भने सत्ता गुमाउनु पर्ने चेपुवामा प्रधानमन्त्री देउवा पर्नुभएको छ । प्रधानमन्त्री देउवाका लागि यतिखेर एमसीसी परियोजना ‘नखाउ भने दिनभरीको शिकार, खाउँ त भने कान्छा बाउको अनुहार’ जस्तो भएको छ ।