वासिङ्टन– अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमाथि अझै पनि आक्रमण गर्न सक्ने सम्भावना रहेको बताएका छन् । राष्ट्रपति बाइडेलले रुसले युक्रेनमाथि हमला गरे मानवीय मूल्य अति नै धेरै हुने भन्दै आक्रमण हुनसक्ने सम्भावना रहेको बताएका हुन् ।

टेलिभिजनमार्फत् राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले अमेरिका यस्तो प्रकारको कदमको निर्णायक जवाफ दिनका लागि तयार भएको रुसले अब युक्रेनसँगको सीमामा सैनिकको सङ्ख्या बढाएर करिब डेढ लाख पुर्याएको दावी गरेका छन् । जबकी रुसी रक्षामन्त्रीले मङ्गलबार सीमा क्षेत्रमा रहेका आफ्नो सैन्य बलको सङ्ख्या घटाएको बताएका थिए । अमेरिक राष्ट्रपति बाइडेनले भने यो कुरा अहिलेसम्म पुष्टि हुन नसकेको भनेका छन् ।

राष्ट्रपति बाइडेनले ‘रुसले केही सेना फिर्ता बोलाएको त राम्रो हो, तर हालसम्म यसको पुष्टि भएको छैन । रुसी सैन्य इकाई आफ्नो बेस फर्किरहेको भन्ने कुरा हामीले अहिलेसम्म पुष्टि गर्न सकेका छैनौं । हामीले हाम्रो विश्लेषणमा रुसको सेनाले अहिले पनि युक्रेनको सीमामा धम्काउने र डर देखाउने स्थितिमा नै तैनाथ भएको पाएका छौं’ भनेरप्रतिक्रिया व्यक्त गरेका छन् ।

यता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘मस्कोको सुरक्षाबारे चिन्ता गर्नुपर्छ र साथै यसलाई गम्भीरतापूर्वक लिइनुपर्छ’ भनेका छन् । अमेरिकाले युुक्रेनमाथि रुसले आक्रमण गर्नसक्ने भन्दै आएको कुराप्रति राष्ट्रपति पुटिनले युक्रेनमाथि हमलाको योजना नभएको भन्दै अमेरिकाको आरोप अस्वीकार गर्दै आएका छन् । केही दिन अघि पुटिनले ‘रुसले युरोपमा अर्को एउटा युद्ध नचाहेको’ बताएका थिए । यद्यपि, युक्रेन र रुसको सीमा क्षेत्रमा गत नोभेम्बरदेखि तनाव बढ्दै गइरहेको छ ।

रुसले युक्रेनलाई पश्चिमा देशहरुको आडमा नेटो सैन्य गठबन्धमा समावेश नहोस् भनेर त्यसप्रति आश्वस्त हुन चाहेको छ । किनभने रुस युक्रेनको कुनै पनि विस्तारलाई आफ्नो लागि एक खतराको रुपमा हेर्ने गरेको छ । तर अमेरिकी र नेटो सैन्य गठबन्धनले रुसको यो मागलाई अस्वीकार गरिसकेको छ ।

रुस र युक्रेनबीचको बढ्दो तनावलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि रुसले कुनै पनि प्रकारको आक्रमण गरे रुसमाथि आक्रमण गर्ने धम्की दिंदै प्रतिबन्ध लगाउन सकिने चेतावनी समेत दिएका छन् ।

रुस र युक्रेनबीच युद्ध भएमा त्यसको नकारात्मक असर अमेरिकी अर्थतन्त्रमा पर्ने अमेरिकी राष्ट्रपति बाइडेनले बताएका छन् । अमेरिकी अर्थतन्त्रमा पर्ने प्रतिकुल प्रभावका कारण अमेरिकाले रुसमाथि दवाव दिंदै आएको छ । रुस र युक्रेनबीच युद्ध भएको खण्डमा अमेरिकाले बिजुली आपूर्ति र मूल्यवृद्धि समस्याको सामना गर्नुपर्ने हुनसक्छ ।

युक्रेन पूर्व सोभियत सङ्घको राष्ट्र थियो । सोभियत सङ्घका तात्कालीन राष्ट्रपति मिखाइल गोर्वाचोभ सत्तामा रहेका बेला सोभियत सङ्घको पतन पछि युक्रेनलगायतका केही देशहरु अलग भएका थिए । रुस र युक्रनबीच गहिरो सांस्कृतिक र ऐतिहासिक सम्बन्ध छ ।