फाइल तस्वीर
काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत मङ्गलबार भएको ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । यसैगरी ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको अर्को खेलमा फ्रेण्ड्स क्लबले उत्कृष्ट पुनरागमन गर्दै जावलाखेललाई हराउँदै ‘ए’ डिभिजनमा रहन बाजि मारेको छ ।


फ्रेण्डस क्लबले ३–० गोलले पछि परेको अवस्था उल्टाउँदै ३–३ गोलको बराबरी नतिजा निकालेको हो । खेलको १२ मिनेटमा लोइक काउहिमले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । खेलको ४० मिनेटमा टिमको लागि अग्रता दोब्बर पार्दा ४५ औं मिनेटमा रुपबहादुर लामाले गोल गर्दै जावलाखेलका लागि तेस्रो गोल गरेका थिए ।


पहिलो हाफको अन्तिम समयमा फ्रेण्ड्स क्लबका लागि जुडै गर्सियाले पहिलो गोल गर्दै आफ्नो टिमलाई खेलमा फर्काउन अभिप्रेरित गरेका थिए । खेलको ६९ औं मिनेटमा जुडैले नै दोस्रो गोल गर्दै फ्रेण्ड्सलाई खेलमा फर्काएका थिए । दोस्रो हाफको खेल सकिने समयमा एन्थोनी फ्रान्कोइसले तेस्रो गोल गर्दै फ्रेण्ड्सलाई ३–३ गोलको रोमाञ्चक बराबरीमा क्लबलाई पुर्याए ।
बराबरीको रोमाञ्चक खेलसँगै फ्रेण्ड्स क्लब रेलिगेसनबाट जोगिन सफल भएको छ । एघारौं स्थानको जावलाखेल युथ क्लबको १० अङ्क छ भने १२ औं स्थानमा उक्लिएको फ्रेण्ड्सको ७ अङ्क छ ।


लिग तालिकाको पुछारमा रहेका ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लबबीचको खेल गोलरहित बराबरीमा रोकिंदा यी दुवै क्लब सङ्कटमा परेका छन् । दशरथ रङ्गशालामा भएको खेलमा दुवै क्लबको खेल फितलो देखिएको थियो । दुवै टिमले गोलका लागि अवसर सिर्जना गर्नबाट चुक्दा खेल गोलरहित बराबरीमा सकिएको थियो । बराबरीपछि ब्रिगेड ब्वाइज क्लबले ११ खेलबाट ७ अङ्क जोड्दै १३ औं स्थानमा रहँदा च्यासल क्लब भने ६ अङ्कसहित अन्तिम १४ औं स्थानमा छ ।