फाइल तस्वीर

काठमाडौं – जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगको ११ औं चरणका खेलहरु आज मङ्गलबारदेखि सुरु हुँदैछ । आज अङ्क तालिकामा पुछारमा रहेका चार क्लब मैदानमा भिड्दैछन् । अन्तिम दुई स्थानको ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लब अनि जावालखेल युथ क्लब र फ्रेण्ड्स क्लब भिड्दैछन् । यी चार क्लबमध्ये रेलिगेसनमा जाने दुई टिमको टुङ्गो पनि लाग्ने छ । रेलिगेसनमा पर्ने दुई टिम घटुवा भै ‘बी’ डिभिजनमा झर्नेछन् ।

लिगमा रेलिगेसन ब्याटल रोमाञ्चक बनिरहेको अवस्थामा आजको खेल चारवटै टिमलाई महत्वपूर्ण छ । त्यसैले दुवै खेल एकै समयमा हुँदैछ । ब्रिगेड ब्वाइज र च्यासलबीचको खेल आज दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु हुनेछ भने जावालखेल र फ्रेण्ड्सबीचको खेल पनि १ बजे नै सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुनेछ ।

यी कमजोर देखिएका चार टिममध्ये अङ्कतालिकामा जावलाखेल सबैभन्दा अघि छ । जावलाखेल १० खेलबाट ८ अङ्कसहित ११ औं स्थानमा छ भने ६ अङ्क जोडेको फ्रेण्ड्स क्लब १२ औं स्थानमा छ । अघिल्लो चरणमा ब्रिगेडलाई हराएर पहिलो जित हात पारेको फ्रेण्ड्स समान अङ्क भए पनि ब्रिगेड ब्वाइजभन्दा हेड टु हेडमा अघि छ । च्यासल भने ५ अङ्कसहित पुछारमा छ । जावलाखेल र फ्रेण्ड्स क्लबले बराबरी खेलेमात्रै पनि ‘ए’ डिभिजनमा रहने छन् । लिगको पुछारमा पर्ने दुई टिम रेलिगेसनमा पर्ने हुँदा आज चारवटै टिमलाई जित्नै पर्ने दवाब छ ।