काठमाडौं – झापाको भद्रपुरका एक युवकले चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । भद्रपुर नगरपालिका–१ लाहुरे चोकका ३४ वर्षीय अमरबहादुर तामाङले चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेको झापाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो ।

पाठकका अनुसार तामाङले ३४ वर्षीया श्रीमती अनिता लिम्बूलाई मोबाइल बिगारेको निहुँमा झगडा हुँदा आफ्नै घरभित्र घाँटीमा चक्कु र शरीरमा ढुङ्गा प्रहार गरी हत्या गरेका हुन् ।

प्रहरीका अनुसार मोबाइल बिगारेको सामान्य निहँुकै क्रममा झगडा हुँदा घाँटीमा चक्कु र शरीरमा ढुंगा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तामाङले बिहान करिब ५ः३० बजेको समयमा हत्या गरेको प्रहरीले जनाएको छ ।

घटनापछि सीमा प्रहरी चौकी पृथ्वीनगरमा खबर प्राप्त भएपछि आरोपीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो । थप अनुसन्धान भइरहेको र लास पोस्ट मार्टमका लागि मेची अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।