जनकपुरधाम – मधेश प्रदेश सरकारले आज जनयुद्ध दिवस मनाउँदैछ । अघिल्ला वर्षहरुमा मधेश बलिदानी दिवस मनाउँदै आएको मधेश सरकारले यस वर्ष जनयुद्ध दिवस मनाउन लागेको हो ।

जनयुद्ध दिवस मनाउन प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ । माओवादीको तर्फबाट सरकारमा सहभागी भएका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहको प्रस्तावमा मधेश प्रदेश सरकारले आज जनयुद्ध दिवस मनाउन लागेको छ । जनकपुरधामस्थित मधेश भवनको कभर्ड हलभित्र आयोजना हुने कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाइएको छ ।

कार्यक्रममा जनयुद्धका शहीद परिवारलाई आर्थिक सहयोगसहित सम्मान गरिने छ । प्रदेशका प्रत्येक जिल्लाबाट पाँच÷पाँच जना गरी ४० जनालाई एक लाखका दरले आर्थिक सहयोगसहित सम्मान गर्ने कार्यक्रम रहेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ ।