फाइल तस्वीर
काठमाडौं – कोरोना भाइरस सङ्क्रमणको महामारीलाई दृष्टिगत गर्दै बन्द गरिएका शिक्षण संस्थाहरु भोलिदेखि खुल्ने भएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव श्रोत विकास केन्द्रको निर्देशन अनुरुप भोलि फागुन १ गते आइतबारदेखि शिक्षण संस्था खुल्ने भएका हुन् ।

सीसीएमसीको सिफारिस र शिक्षा मानव श्रोत विकास केन्द्रको निर्देशन बमोजिम फागुन १ गते आइतबारदेखि विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम केन्द्र वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप जनस्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाइ भौतिक उपस्थितिमै सञ्चालन हुने छन्

केन्द्रको सूचना अनुसार १२ वर्ष माथिका विद्यार्थीलाई नियमित र १२ वर्ष मुनिका विद्यार्थीलाई आलोपालो रुपमा विद्यालय सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । यस अनुरुप देशैभरी शिक्षण संस्था र विद्यालय खुल्ने जनाइएको छ ।

सरकारले यसअघि नै फागुन र चैत्र महिना भरी पठनपाठन सञ्चालन गरी वैशाखमा शैक्षिकसत्र सक्ने निर्णय गरिसकेको छ । त्यस अनुरुप एसईर्ईको परीक्षा वैशाख ९ देखि २० गतेसम्म हुने र कक्षा ११ र १२ को परीक्षा जेठमा गर्ने तयारी रहेको बताइएको छ ।