फाइल तस्वीर
क्यानबेरा – अष्ट्रेलियाले युक्रेनमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट बाहिरिन आग्रह गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमाथि रुसले हमला गर्ने खतरा देखिएकाले युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अनुरोध गरेका हुन् ।

रुसले युक्रेनसँगको सीमा क्षेत्रमा रहस्यमय तरिकाले हजारौँ सुरक्षाकर्मी तैनाथ गराएकाले रुसले युक्रेनमा आक्रमण गर्ने तयारी गरेको धेरैको दाबी छ । प्रधानमन्त्री मोरिसनले ‘युक्रेन र रुसको सीमा क्षेत्रको अवस्था हेर्दा र विभिन्न चर्चा सुन्दा युक्रेनमा बसिरहनु अहिले सुरक्षाको दृष्टिकोणले अत्यन्त खतरा छ । त्यसैले हाम्रा सबै नागरिकलाई युक्रेनबाट बाहिरिन अनुरोध गर्दछौं’ भनेका छन् ।

प्रधानमन्त्री मोरिसनले युक्रेनमा अशान्ति नहोस् भन्ने आफूले चाहेको भए पनि द्वन्द्वको अवस्था सिर्जना हुने खतरा देखिएको उल्लेख गरेका छन् । युक्रेनमा अहिले सुरक्षाको सुनिश्चितता नरहेको र जुनसुकै बेला जे पनि हुन सक्ने भएकाले त्यहाँ बसिरहनु उपयुक्त नहुने बताएका छन् । रासस÷एएनआई