फाइल तस्वीर
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा मछिन्द्र क्लबले सहज जित निकालेको छ । आज भएको खेलमा मछिन्द्रले च्यासल युथमाथि २–० गोलको सहज जित निकालेको हो । मछिन्द्रका लागि विमल घर्ती मगरले सुन्दर ढङ्गले गोल गर्दै आफ्नो टिमलाई विजयउन्मुख गराएको थिए । विमलको पहिलो गोलको उत्कृष्ट प्रदर्शनमा लिग लिडर मछिन्द्र फुटबल क्लबले शहीद स्मारक ए डिभिजन लिगमा शनिबार च्यासल युथ क्लबलाई २–० ले पराजित गरेको छ ।

यस जितसँगै मछिन्द्र क्लब दोस्रो स्थानको मनाङ मस्र्याङ्दीभन्दा ७ अङ्कले माथि रहँदै अग्रता स्थानमा कायम छ । हारपछि पुछारमा रहेको च्यासललाई भने रेलिगेसनको दबाव बढेको छ । दशरथ रङ्गशालामा भएको खेलमा विमलले एक गोल गर्नुका साथै अर्को गोलका लागि सहयोग गरे । खेलको १७औं मिनेटमा रञ्जित धिमालको कर्नरमा विमलले ब्याक हेडरमार्फत पहिलो गोल गरेका थिए । उनकै सहयोगमा ३५ औं मिनेटमा सुनिल बलले दोस्रो गोल गरे ।

जारी लिगमा अपराजित रहेको मछिन्द्रले १० खेलबाट २६ अङ्क जोड्दै उपाधि रक्षा अभियानलाई अझ बलियो बनाएको छ । दोस्रो स्थानको मनाङको १९ अङ्क छ र मनाङले शनिबार नै थ्रीस्टारसँग खेल्दैछ । उक्त खेलमा मनाङ पराजित भएमा मछिन्द्रको उपाधि यात्रा अझ सहज बन्नेछ । च्यासल भने १० खेलबाट ५ अङ्कसहित पुछारमा रहेको छ ।