काठमाडौं — पछिल्लो २४ घण्टामा नेपालमा जम्मा ८ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये सोही अवधिमा ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८ सय ८२ पुगेको छ । नेपालमा एकसातादेखि कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या निरन्तर घटिरहेको छ ।

गत २४ घण्टामा ४ हजार २ सय ६० जनाको पीसीआरविधि र २ हजार ३ सय ९४ जनाको एन्टिजेनविधि कोरोना भाइरसको सङ्क्रमण परीक्षण भएको थियो । शनिबार १ हजार ८ सय २६ जना कोरोना भाइरसको सङक्रमणबाट मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर २६ हजार १ सय २ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैगरी काठमाडौं उपत्यकामा २ सय ७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका थपिए छन् । मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ६६ जना, ललितपुरमा ३१ जना र भक्तपुरमा १० जना सङ्क्रमित थपिएका छन् ।