फाइल तस्वीर
सिमिकोट – हुम्लाको अवरुद्ध हवाई सेवा सञ्चालनमा आएको छ । हावाहुरीका कारण एकदिन रोकिएको उडान शनिबार बिहानबाट सुचारु भएको सिमिकोटस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

हावाहुरीका कारण हिजो शुक्रबार सिमकोट विमानस्थलमा जहाज अवतरण हुन नसकेर सीता एयरलाइन्सको जहाज फिर्ता भएको थियो भने तारा र समिट एयरलाइन्सका जहाज पनि सिमकोट प्रवेश नगर्दै नेपालगञ्जतर्फ फिर्ता पठाइएको थियो ।

हुम्लाको सिमिकोटमा बिहानै उडान भर्नुपर्ने जहाजहरु नेपालगञ्ज विमानस्थलमा हुस्सु लागेको कारण केही समय ढिलाई भएता पनि आजबाट हवाई सेवा सञ्चालनमा आएको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ ।

सिमिकोटको मौसम राम्रो भएकाले बिहान सीता, तारा र नेपाल एयरलाइन्सका जहाजले उडान गरेका थिए । सिमिकोट विमानस्थलमा हवाई सेवा सुचारु भएपछि यात्रुलाई सहज भएको छ भने त्यहाँबाट नेपालगञ्ज ल्याइने जडिबुटीहरुको पनि ढुवानी भएको छ ।