फाइल तस्वीर

काठमाडौं – चार देशीय टी–२० सिरिज क्रिकेट प्रतियोगिता आजदेखि ओमानमा सुरु हुँदैछ । खेल मस्कटस्थित अल अमिरात मैदानमा दिउँसो ३ः४५ बजे सुरु हुनेछ । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ए अघि हुन लागेको चार देशीय टी–२० सिरिज खेलका लागि नेपाली क्रिकेट टोली ओमान पुगिसकेको छ । नेपालले आज पहिलो खेल घरेलु टिम ओमानविरुद्ध खेल्दै छ । आजदेखि ओमानमा सुरु हुँदैछ ।


चार देशीय टी–२० सिरिजमा नेपालसहित ओमान, आयरल्याण्ड र युएई समावेश छन् । यी सबै टिमले एक अर्काविरुद्ध एक÷एक खेल खेल्नेछन् । चार वटै टिम ग्लोबल क्वालिफायर ‘ए’ मा छन् । क्वालिफायर ए मा रहेका ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स छन् भने समूह ‘बी’ मा आयरल्याण्ड, युएई, बहराइन र जर्मन रहेका छन् ।

क्वालिफायरको आफ्नो पहिलो खेलमा पनि नेपालले ओमानसँग नै खेल्नेछ । त्यसैले क्वालिफायरअघि दुवै टिमलाई यो सिरिज एक्सपोजरको मौका हुनेछ । विशेषगरी नयाँ कप्तान युवा खेलाडी र केही नयाँ अनुहारसहित ओमान पुगेको नेपाली टोलीका लागि चार देशीय सिरिजको तीन खेल एक्सपोजर प्राप्त गर्ने हुनेछ । नेपाली टिमको नेतृत्व गरेका सन्दीप लामिछानेले आफ्नो टिमको कप्तानीको रुपमा डेब्यु गर्दैछन् । उनी टी–२० अन्तर्राष्ट्रियमा कप्तानी गर्ने विश्वकै आठौं कान्छा कप्तान हुन् । सन्दीपले कप्तानीमा डेब्यू गर्दा २१ वर्ष १९३ दिनको हुनेछन् ।

यस्तै अधिकांश युवा खेलाडी रहेको नेपाली टिममा लोकेश बम, विवेक यादव र सागर ढकाल नयाँ अनुहारका रुपमा छन् । यी तीन खेलाडी डेब्युको पर्खाइमा छन् । सिरिजका लागि नेपाली टिममा १७ खेलाडी छन् । त्यसैले प्रशिक्षक पुबुदुले सकेसम्म यस सिरिजमा सबै खेलाडीलाई अवसर दिने र त्यसबाट ग्लोबल क्वालिफायरका लागि उत्कृष्ट टोली छान्ने बताइसकेका छन् ।

नेपालले गत सेप्टेम्बरमा ओमानमा गएर पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज र विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक सिरिज खेलेको थियो । त्यसपछि नेपालले ओमानमा फेरि खेल्न लागेको हो । यस्तै टी–२० तर्फ भने नेपालले बैशाखपछि पहिलो पटक खेल्दैछ । नेपाललले पछिल्लो पटक घरेलु मैदानमा नेदरल्याण्ड्स र मलेसिया सम्मिलित सिरिज खेल्दै उपाधि समेत जितेको थियो । नेपालले सन् २०१९ मा ओमानमै भएको पेन्टागुलर सिरिजमा ओमानसँग टी–२० म्याच खेलेको थियो । उक्त खेलमा नेपालको फितलो ब्याटिङका कारण ओमानसँग हार व्यहोेरेको थियो ।