काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ६९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएअनुसार ११ हजार ८ सय ८० जनाको नमुना परीक्षण गर्दा १ हजार ३ सय ६९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।


यसैगरी बितेको २४ घण्टामा १२ जनाले कोरोना सङ्क्रमणकै कारण ज्यान गुमाएका छन् । यो सङ्ख्यासँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या ११ हजार ८ सय ६४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या २ हजार २ सय ३८ रहेको छ ।

नेपालमा हालसम्म कुल सङक्रमितको सङख्यामध्ये पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७१ हजार ४ सय ७५ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३६ हजार ५ सय ११ जना पुगेको छ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उल्लेख गरेको छ । सङ्क्रमितमध्ये हालसम्म ९ लाख ३० हजार ६ सय ७ जना निको भएका छन् ।

हाल देशभर सक्रिय सङ्क्रमित २९ हजार ४ जना रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा २ लाख २० हजार ६ सय १ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।