जनकपुर – मधेस प्रदेश सरकारले पहिलो पटक आगामी १ फागनुमा जनयुद्ध दिवस मनाउने भएको छ । यसै क्रममा शहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ । आगामी १ फागुनमा ती परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम तय भएको प्रदेश सरकारले जनाएको छ । विगत तीन वर्षदेखि ५ माघमा मधेस बलिदानी दिवसका रूपमा मनाउँदै आएको प्रदेश सरकारले पहिलोपटक जनयुद्ध दिवस मनाउने तयारी गरेको हो ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गतको मधेसी शहिद प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रमलाई पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिनुभयो । पहिलो चरणमा प्रदेशको आठ वटै जिल्लाका ४० शहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गरिने तयारी रहेको उहाँको भनाइ छ । रासस