महामारीको रुपमा फैलिएको कोभिड–१९ को कारण लकडाउन हुँदा पनि एसिया प्रशान्त क्षेत्रको व्यापार तीव्र रूपमा वृद्धि भएको छ । गत वर्ष कोभिड–१९ का कारण प्रतिबन्ध र आपूर्ति सञ्जालमा विभिन्न समस्याका बाबजुध गत वर्ष एसिया प्रशान्त क्षेत्रको व्यापार उल्लेख्य रुपमा वृद्धि भएको एसियाली विकास बैंकले जनाएको छ । विश्वव्यापी व्यापारभन्दा यस क्षेत्रको व्यापार औसतभन्दा तीव्र वृद्धि भएको उक्त बैंकले उल्लेख गरेको छ ।

बुधबार सार्वजनिक गरिएको एसियन इकोनोमिक इन्टिग्रेसन रिपोर्ट –२०२२ अनुसार विश्वव्यापी वृद्धि करिब २८ प्रतिशतको तुलनामा सन् २०२१ को पहिलो त्रैमासिकमा एसिया प्रशान्त क्षेत्रको व्यापार वृद्धि झण्डै ३० प्रतिशत रहेको छ । सन् २०२० मा ३ दशमलब १ प्रतिशतमा खुख्चिए पछि यस क्षेत्रको व्यापार ३१ प्रतिशतले बढेको मनिलास्थित एसियाली विकास बैंकले जनाएको छ ।
महामारीको बेलामा पनि बढ्दो क्षेत्रीय एकीकरणको समयमा यस क्षेत्रभित्रको व्यापारिक अंश ५८ दरमलब ५ प्रतिशत रह्यो । सन् १९९० यताकै यो उच्च हो । मुख्यतः चीनको कारण यो भएको हो । उत्तर अमेरिका र युरोपसँगै बेलायतको तुलनात्मक तथ्याङ्क क्रमशः ३९ दशमलब ३ प्रतिशत र ६३ दशमलब ८ प्रतिशत रहेको थियो ।

एसियाली विकास बैंकका प्रमुख अर्थविद् अल्बर्ट पार्कले यी तथ्याङ्कले कोभिड–१९ बाट ‘लचकतापूर्ण रिकभरी’को उत्साहजनक सङ्केतहरू प्रदान गरेको बताएका छन् । अर्थविद् पार्कले ‘महामारीले देखिने गरी आर्थिक क्षति पु¥याएको छ र गरिबी घटाउन कठिन मिहेनत गरी प्राप्त गरेको उपलब्धिलाई उल्ट्याएको छ । समावेशी र दिगो आर्थिक वृद्धिमा फर्कन सहयोग गर्न हामीले क्षेत्रीय एकीकरण र सहयोगको उपलब्धिहरूमा निर्माण गर्नुपर्छ’– भनेका छन् ।

उत्तर अमेरिका र युरोपले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को महामारीको रुपमा फैलंदा पनि आफ्नो अर्थतन्त्र पुनः खोल्न अगाडि बढिरहेका बेला एसिया प्रशान्तले भने सतर्कता अपनाइरहेको छ । यस क्षेत्रको धेरैजसो क्षेत्रमा महामारीको सुरुवातको तुलनामा प्रतिबन्ध कम छैन ।

चीन, हङकङ, जापान र दक्षिण कोरिया लगायत प्रमुख अर्थतन्त्रहरूले व्यवसायमा कडा प्रतिबन्ध लगाइ राखेका छन् । यहाँको यात्रा पनि ठप्प छ । गत वर्ष एसिया प्रशान्त क्षेत्रमा हवाई यात्रा महामारी पूर्वको तुलनामा ९३ दशमलब २ प्रतिशतले कम थियो । इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनका अनुसार यो कुनै पनि क्षेत्रको सबैभन्दा ठूलो गिरावट हो ।

यसैबीच, एसियाली विकास बैंकका अध्यक्ष मासात्सुगु आसाकावाले उच्च खोप दर र ओमिक्रोनको लक्षण कम गम्भीर भएको अवस्थामा कडा प्रतिवन्धहरूलाई उचित ठहर्याउन कठिन भएको बताएका छन् । खोप उपलब्ध हुनुअघि महामारी रोक्न र स्वास्थ्य प्रणालीलाई जोगाउन प्रतिबन्धले सहयोग गरेपनि अहिलेको अवस्थामा उचित नभएको अध्यक्ष आसाकावाको भनाइ छ ।

अध्यक्ष मासात्सुगु आसाकावाले ‘सरकारको हस्तक्षेपको अर्को रूप, जुन अर्थतन्त्रलाई निरन्तर नीतिगत सहयोग र कमजोर मानिसहरूलाई दिइने अनुदान हो, अझै धेरै आवश्यक छ’ भने । यस क्षेत्रको आर्थिक पुनरुत्थानलाई दिगो बनाउन सरकारहरू सचेत हुनैपर्नेमा अध्यक्ष मासात्सुगु आसाकावाको जोड छ ।

गत डिसेम्बरमा एडीबीले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को द्रुत प्रसारलाई कारण देखाउँदै २०२१ को लागि आफ्नो क्षेत्रीय वृद्धि प्रक्षेपण ७ दशमलब १ बाट ७ प्रतिशतमा घटाएको थियो । एसियाली विकास बैंकले सन् २०२२ का लागि आफ्नो अनुमान ५ दशमलब ४ बाट घटाएर ५ दशमलब ३ प्रतिशतमा झारेको गरेको छ ।