काठमाडौं – कोरोना भाइरसको सङ्क्रमणलाई देखाएर नौं महिना अघि स्थगित भएको भन्सार एजेन्टको लिखित परीक्षा आगामी फागुन २८ गते शनिबार हुने भएको छ । भन्सार विभागले लिने उक्त परीक्षासम्बन्धी सूचना आज प्रकाशित गर्दै विभागले फागुन २८ गतेका दिन दिउँसो २ बजे परीक्षा लिने जनाएको छ ।

गत जेठ २२ गतेका लागि लिने भनि तय भएको परीक्षा कोरोना भाइरसको सङ्क्रमणका कारण विभागले स्थगित गरेको थियो । स्थगित भएको परीक्षा यही माघ २९ गते गर्ने भनि सूचना प्रकाशित भएको थियो । तर देशभर कोरोना भाइरसको महामारी बढ्न थालेपछि पुनः परीक्षा स्थगित हुन पुगेको थियो । परीक्षा लिन माग गर्दै भन्सार एजेण्टका परीक्षार्थीहरु आन्दोलनमा समेत उत्रिएका थिए । पुराना भन्सार एजेन्टहरुको स्वार्थमा परीक्षा लिन विलम्ब गरिएको भन्दै भन्सार एजेण्टका लागि दरखास्त दिएकाहरुले यसअघि त्रिपुरेश्वरस्थित भन्सार विभागमा धर्नासमेत दिएका थिए ।

विभागले फागुन २८ गते परीक्षा लिने जनाएको छ । तर परीक्षा कहाँ हुने भन्ने बारेमा विभागले परीक्षा केन्द्र तोकेको भने छैन । विभागले गत वर्ष २०७७ साल चैत १७ गते भन्सार एजेन्टको इजाजतपत्रका लागि दरखास्त आवेदन माग गरिएको थियो । एजेन्टका लागि ६ सय ६० पदका लागि ९ हजार भन्दा बढीले दरखास्त दिएका छन् । भन्सार विभागबाट लिइने एजेन्टको परीक्षा पास गरेपछि ति एजेन्टहरुले भन्सार कार्यालयहरुमा सामान निकासी र पैठारीको काममा सहजीकरण गर्दछन् ।