फाइल तस्वीर
काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद स्मारक ‘ए’ डिभिजन लिगको बाँकी रहेका चार चरणका खेलहरुको तालिका सार्वजनिक गरेको छ । माघ २८ गते शुक्रबारदेखि लिगको दशौं चरणका खेलहरु सञ्चालन गर्न लागेको हो । एन्फाले बाँकी खेलहरूमध्ये केही खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटोमा समेत गर्ने भएको छ ।

त्यसैगरी एघारौं चरणका खेलहरु फागुन ३ मङ्गलबारदेखि सुरु हुनेछन् भने बाह्रौं चरणको खेल फागुन ७ गते शनिबारदेखि सुरु हुने एन्फाले जनाएको छ । शहिद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम चरणका खेलहरु फागुन १२, १३ र १४ गते खेलाइने भएको छ ।
कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण स्थित भएको नवौं चरणको लिग भोलि बुधबारदेखि हुनेछ । भोलिको खेल नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच हुने भएको छ । लिगको नवौं चरणका खेलहरु सकिंदा साविक विजेता मछिन्द्र फुटबल क्लब २३ अङ्कका साथ शीर्ष स्थानमा छ भने मनाङ मर्स्याङदी क्लब १९ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ ।