काठमाडौं – सरकारी स्वामित्वको नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिबारे प्रतिनिधिसभाको संसदीय समितिले छानविन गर्ने भएको छ । निगमले एक हप्ता अघि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको थियो ।
आज संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यान समितिको सिंहदरबारमा बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे छानविन गर्न राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको छ । उक्त समितिमा खेम लोहनी र लक्ष्मी परियार सदस्य रहनु भएको छ ।
समितिकी सभापति निरादेवी जैरुले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र त्यसको वैकल्पिक व्यवस्था गरेर जनतालाई राहत दिनेगरी सरकारलाई आवश्यक सुझाव दिन सो उपसमिति गठन गर्नु परेको बताउनु भएको छ । बैठकमा समितिका सदस्यहरूले आयातित पेट्रोलियम पदार्थका कारण जनता मारमा परेको उल्लेख गर्दै त्यसबाट निकास दिन नेपाल भित्र पेट्रोलियम पदार्थको अन्वेषणको कामलाई तीव्र गतिका साथ अघि बढाउन सरकारको ध्यानाकर्षण गरेका छन् ।