सिरहा – आफू प्रहरी हुँ भन्दै सर्वसाधारणलाई धम्की दिने एक व्यक्तिलाई सिरहा प्रहरीले लागूऔषध र नक्कली हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका ४ मण्डिखाटार बस्ने ३२ वर्षीय अशिम गुरुङ रहेका छन् ।

सिरहा नगरपालिका–७ स्थित बस काउन्टरमा सर्वसाधारणलाई धम्काइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले गुरुङको साथबाट लागूऔषध नाइट्राभेट–१० लेखिएको ३९ थान, स्पामा प्राक्सिभोन प्लस २२ थान, नेपाल प्रहरीको नक्कली परिचय पत्र १ थान, नक्कली रिभल्वर १ थान, ड्राइगन चक्कु एक थान, असिम गुरुङ लेखिएको मेटल नेम प्लेट २ थान, चेकबुक, एटिएम कार्ड बरामद गरेको छ ।

पक्राउ परेका गुरुङलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट लागूऔषध मुद्दामा ५ दिनको म्याद लिएर थप अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।