धनुषा – मधेस प्रदेशमा नेकपा एकीकृत समाजवादीबाट नागेन्द्रराय यादवलाई राज्यमन्त्री चयन गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले नागेन्द्रराय यादवलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्री बनाउनुभएको हो ।
आइतबार एकीकृत समाजवादीको तर्फबाट राज्यमन्त्री पदमा यादवलाई नियुक्त गरिएको मधेस सरकारका प्रवक्ता समेत रहनुभएका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो । नवनियुक्त राज्यमन्त्री यादवलाई मुख्यमन्त्री लालबाबु राउतले शपथ ग्रहण गराउनुभएको थियो ।

यादव तत्कालीन नेकपा एमालेको तर्फबाट रौतहट क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित हुनुभएको थियो । एकीकृत समाजवादीले मन्त्रिपरिषद्मा एक राज्यमन्त्री थपिएसँगै दुई मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएको छ ।

गत मङ्सिर ५ मा नेकपा एकीकृत समाजवादीबाटै उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयको जिम्मेवारी शत्रुधन महतो र प्रदेश मामिला तथा कानुन मन्त्रीमा प्रमोद यादव सहभागी भइसक्नुभएको छ । योसँगै मधेस प्रदेशमा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ ।