विराटनगर – प्रदेश १ मा मन्त्रालय फुटाएर आज मन्त्रीपरिषद् विस्तार हुने भएको छ । हाल सात मन्त्रालय रहेको प्रदेश नं.१ मा त्यसलाई फुटाएर १३ मन्त्रालय र एक विनाविभागीयसहित १४ सदस्यीय मन्त्रीपरिषद् बनाइने भएको हो । मुख्यमन्त्री राजेन्द्र राईले जिम्मेवारी दिने मन्त्रीहरुको ११ बजे शपथग्रहण तय भएको छ ।

नयाँ थपिने मन्त्रीहरुमा नेपाली काङ्ग्रेसबाट तीनजना, नेकपा समाजवादीबाट चार जना र नेकपा माओवादी केन्द्रबाट दुईजना हुनेछन् । काङ्ग्रेसबाट प्रताप प्रकाश हाङगाम, ओमप्रकाश सरावगी र शेखरचन्द्र थापा मन्त्री बन्दै हुनुहुन्छ । सरागवी नेपाली काङ्ग्रेसका कृष्ण सिटौला, हाङगाम र थापा पार्टी सभापति शेरबहादुर देवाउ निकट हुनुहुन्छ ।

नेपाली काङ्ग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइरालाले मन्त्रीहरुको नाम केन्द्रबाट नै तय भएर आएको बताउँदै भोलिका दिनमा राज्यमन्त्री पनि थप हुन सक्ने बताउनुभयो । माओवादी केन्द्रका तर्फबाट झापाका झलकबहादुर मगर, खोटाङका रामकुमार राई आइतबार मन्त्री बन्ने बताइएको छ । हाल माओवादीका इन्द्रबहादुर आङ्ग्बो आर्थिक मामिला तथा योजना मन्त्री हुनुहुन्छ ।

नेकपा एकीकृत समाजवादीबाट उपेन्द्रप्रसाद घिमिरे, खिनु लङवा लिम्बू र राजन राई मन्त्री बन्ने बताइएको छ । नेकपा माओवादी केन्द्रबाट रामकुमार राई र झलकसिंह दर्लामी मन्त्री बन्ने बताइएको छ । अब प्रदेश–१ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सडक पूर्वाधार तथा सहरी विकास विकास मन्त्रालय, खानेपानी सिंचाई तथा उर्जा मन्त्रालय, वन वातावरण तथा भूसंरक्षण मन्त्रालय, पर्यटन तथा संस्कृति मन्त्रालय, उद्योग श्रम तथा रोजगार मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र भूमि सहकारी तथा यातायात मन्त्रालय हुनेछन् । अहिले प्रदेश नं. १ मा एकीकृत समाजवादीका तर्फबाट मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नेतृत्व गरिरहनुभएको छ ।