जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–८ टोप्ला गाउँकी एक महिलाको हिउँले कठ्याङ्ग्रिएर निधन भएको छ । गएको बिहीबारदेखि परेको हिमपातबाट ३८ वर्षीय जैकुवाँरा शाहीको निधन भएको स्थानीयवासी देवीलाल शाहीले जानकारी दिनुभयो ।

शाहीका अनुसार गाउँकै पाटनमा सेतक चिनी (खिरौंला) कोर्न गएको बेला उनको शुक्रबार निधन भएको हो । ‘पाटनमा सेतक चिनी कोर्न गएको दिन माघ २० गते राति भारी हिमपात भएपछि २१ गते त्यही हिउँमा कठ्याङ्ग्रिएर उहाँको मृत्यु भएछ’ देवीलालले भने, ‘गाउँ फर्केर नआएपछि खोजी गर्दा जैकुवाँरालाई पाटनको जङ्गलमा मृतावस्थामा भेटियो ।’

घटनास्थल जुम्ला सदरमुकाम खलाङगाबाट एकदिनको बाटो भएकोले प्रहरी पुग्न नसेकेको उहाँले बताउनुभयो । रासस