प्रतीकात्मक तस्वीर
चितवन – भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडकखण्डमा आज टिपर र मारुती भ्यान एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा११च ५७८८ नम्बरको मारुती भ्यान र विपरीत दिशाबाट गइरहेको लु२ख १७०१ नम्बरको टिपर एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भ्यानमा सवार धादिङको गल्छी गाउँपालिका–१ की ३६ वर्षीया निशा ढुङ्गाना र उनका नौ वर्षीय छोरा निमेश ढुङ्गाना रहेका छन् । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार उनीहरूको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

भ्यानका चालक ३५ वर्षीय राजकुमार ढुङ्गाना र मृतक निशाकी आमा राप्ती नगरपालिका–३ की ५८ वर्षीय धिरमाया ओली घाइते भएका छन् । ओलीको अवस्था गम्भीर रहेको र ढुङ्गानाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइते दुवैजनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भ्यानलाई ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । रासस