फाइल तस्वीर
अर्जेन्टिनामा मिसावट गरिएको कोकिन सेवन गर्दा कम्तीमा १६ जनाको मृत्यु भएको छ । राजधानी ब्युनेस एअर्स क्षेत्रमा मिसावटयुक्त कोकिन खाएका अरु ५० जना अस्पताल भर्ना भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अनुसन्धानकर्ताले अवैध लागुऔषध कोकिनमा कुनै प्रकारको विषादी वा अरु लागुऔषध मिसाइएको हुनसक्ने अनुमान गरेका छन् । स्थानीय सुरक्षा अधिकारीले पछिल्लो २४ घण्टामा कोकिन किनेका प्रयोगकर्ताहरुलाई सो कोकिन फ्याँक्न आग्रह गरेका छन् ।
अहिलेसम्म घटनामा संलग्न भएको अर्थात मिसावट गरिएको कोकिन बेचेको अभियोगमा ९ जना पक्राउ परेका छन् । प्रहरीले लागुऔषध पनि बरामद गरेको छ । पोस्टमार्टम रिपोर्ट आएपछि बरामद गरिएको कोकिन र मृतकले प्रयोग गरेको कोकिन समान रहे–नरहेको थाहा हुनेछ ।

कोका वनस्पतिको पातबाट बनाइने कोकिन (हाइड्रोक्लोराइड) निकै नशालु लागुपदार्थ हो। सन् २०१९ को रिपोर्टअनुसार विश्वमा प्रतिव्यक्ति अत्यधिक कोकिन प्रयोग गर्नेहरुको सूचीमा अर्जेन्टिना तेस्रो स्थानमा छ। अमेरिका र उरुग्वेमा अत्यधिक मात्रामा कोकिन प्रयोग हुने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।