काठमाडौं – नेपाल र मौरिससबीचको मैत्रीपूर्ण खेलमा आज मङ्गलबार पनि घरेलु टिमले जित हासिल गरेको छ । शनिबारको खेलमा १–० ले विजयी बनेको नेपाली टोलीले मङ्गलबारको खेलमा पनि १–० कै जित हासिल गरेको हो ।

खेलको १० औँ मिनेटमा नविन गुरुङको कर्नर प्रहारलाई सुजल श्रेष्ठले गोलमा बदलेका थिए । मध्यान्तरपछि भने खेलमा तनावको स्थिति सिर्जना भएको थियो । नेपाली खेलाडी अञ्जन बिष्टलाई मौरिससका खेलाडीले फल गरेपछि विवाद सुरु भएको हो । विवाद सुरु भएपछि खेलमैदान प्रवेश गरेका प्रशिक्षक विकास मल्ललाई अम्पायरले रेडकार्ड दिएका थिए ।

विवादकै बीचमा नेपाली र मौरिससका एक \एक खेलाडीलाई अम्पायरले रेडकार्ड दिएका थिए । त्यस्तै, दुइटा पहेँलो कार्ड खाएर मौरिससका अर्का खेलाडी पनि बाहिरपछि मौरिससको टिम नौ खेलाडीमा सीमित बनेको थियो । ९० मिनेटको समय सकिएपछि ८ मिनेटको इन्जुरी समय थपिए पनि फ्लड लाइट बिग्रेका कारण खेल करिब ९ मिनेट रोकिएको थियो । शनिबारको खेलमा २६ महिनापछि मैदानमा फर्केका बिमल घर्तीमगरको शानदार गोलले नेपालले विजय पताका फहराएको थियो । शनिबार र मङ्गलबारको दुवै खेलमा कोरोना महामारीका कारण एक तिहाइ दर्शकलाई मात्र रङ्गशाला प्रवेशको अनुमति दिइएको थियो ।