फाइल तस्वीर
विराटनगर – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अध्यावधिक निर्वाचन मौलिक हक भएको बताउनु भएको छ । विराटनगरस्थित कोइराला निवासमा आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले उक्त धारणा राख्नु भएको हो ।

काङ्ग्रेस नेता कोइरालाले स्थानीय तहको निर्वाचन कुनै बहाना बनाएर सार्न नहुने भन्दै निर्वाचन समयमै हुनुपर्ने बताउनु भएको छ । सरकारले निर्वाचनका विषयमा सिधै निर्वाचन आयोगसँग छलफल गरी टुङ्गो लगाउनु पर्छ भन्दै ऐन, कानुन परिवर्तन गरेर निर्वाचन सार्न नहुने बताउनु भयो ।

केन्द्रीय सदस्य समेत रहनुभएका कोइरालाले ‘गठबन्धन दलसँग भन्दा पनि सरकारले निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोक्दा राम्रो हुनेछ’ भन्नुभएको छ । नेता कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा पराजित भएका वरिष्ठ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्न पनि नेतृत्वलाई सुझाउनु भएको छ ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले प्रदेश नम्बर–१ को नामकरण दलको सहमतिमा हुनुपर्ने भन्दै खर्च बढ्ने गरी मन्त्रालय टुक्र्याउने र मन्त्रीको सङ्ख्या बढाउने कुराले सुशासनमा असर पर्ने धारणा व्यक्त गर्नुभयो । देशको आर्थिक अवस्थालाई ध्यानमा राखेर प्रदेश सरकारले आफ्नो सरकार विस्तार गर्नुपर्ने र प्रदेश सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी हुनुपर्नेमा नेता कोइरालाको जोड थियो ।