लमजुङ – गण्डकी प्रदेश सरकारले (होमस्टे) घरबास परियोजनाका लागि लमजुङका तीन घरबास छनोट गरेको छ । प्रदेश सरकार, पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जिल्लाका काउलेपानी, पुमागाउँ र कुडुले घरबास (होमस्टे) लाई परियोजनाका लागि छनोट गरेको हो ।

प्रदेशभित्रका ६२ घरबासले उक्त परियोजनाका लागि माग दाबी गरेकामा प्रदेश मन्त्रिपरिषद्को निर्णयले ३० घरबासलाई त्यसका लागि छनोट गरेको हो । छनोटमा परेका घरबासमा लमजुङ दरबार नजिकैको बेँसीशहर नगरपालिका–३ को काउलेपानी सामुदायिक होमस्टे, राइनास नगरपालिका–३ को कुडुले सामुदायिक घरबास (राइनास होमस्टे) र बेँसीशहर नगरपालिका–६ को पुमागाउँ सामुदायिक घरबास रहेका छन् ।

काउलेपानी र राइनास होमस्टेलाई सामुदायिक भवन निर्माण र पुमागाउँ होमस्टेलाई पदमार्ग निर्माणका लागि छनोट गरिएको हो । ती घरबासले १०÷१० लाखका दरले रकम प्राप्त गर्ने छन् । रासस