अमेरिका – हिमपातसहितको तुफानका कारण अमेरिकाको पूर्वी तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ । पछिल्लो चार वर्षमा सो क्षेत्रमा पहिलोपटक व्यापक हिमपातसहितको तुफान आएको हो।

न्यूयोर्क, न्यू जर्सी, मेरिल्याण्ड, रोड आइल्याण्ड र भर्जिनिया राज्यमा आपतकालीन अवस्था घोषित गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । विज्ञहरुले केही स्थानमा अहिलेसम्मकै धेरै हिमपात हुने तथा तटीय क्षेत्रमा बाढी आउन सक्ने चेतावनी दिएका छन्। हिमपात तथा तुफानका कारण करिब ६ हजार उडान रद्द भएका छन्।

उत्तर–पूर्वी क्षेत्रको तापक्रम निकै कम हुने र त्यसले जनजीवन गम्भीर रुपमा प्रभावित हुने पूर्वानुमान गरिएको छ । नोर’इस्टरका रुपमा चिनिने हिमआँधीका कारण बोस्टन क्षेत्रमा ६१ सेन्टिमिटरसम्म हिउँ जम्ने जनाइएको छ । न्यूयोर्कका केही क्षेत्रमा करिब ६० सेन्टिमिटर हिउँ परिसकेको छ । स्थानीय समयअनुसार शनिबार सबेरैदेखि तीव्र गतिको तुफान तटीय क्षेत्रमा ठोक्किएको हो। सन् २०१८ पछि पहिलोपटक हिमआँधीलाई लिएर चेतावनी जारी भएको छ । हिमआँधीको मार्गमा ७५ मिलियन मानिसको बसोबास छ । बीबीसी