काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ हजार ५ सय ६२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ३ सय १८ जना र एन्टिजेन विधिबाट १ हजार ५ सय ८६ जना गरी ४ हजार ९ सय ४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप ५ हजार ९ सय २४ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको लहर सुरु भएका यता आज पहिलोपटक सङ्क्रमितको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या बढी भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जनाले ज्यान पनि गुमाएका छन् । नेपालमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ७ सय ३ जनाले ज्यान गुमाइसकेका छन् ।
मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर ८७ हजार ३२९ मा पुगेको छ । हालसम्म नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख ४८ हजार ३ सय ६० जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८९.५ प्रतिशत रहेको छ ।