नयाँदिल्ली – भारतमा कोरोनाभाइरसबाट थप दुई लाख ३५ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ३५ हजार ५ सय ३२ जना सङ्क्रमित भएका हुन । सोही अवधिमा अरु ८ सय ७१ जनाको मृत्यु पनि भएको भारतको संघीय स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ । भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा निरन्तर कमी आइरहेको छ । केही दिन बढ्दै गएकोमा अहिले घट्दै आएको हो ।

मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामा रहेकाहरूको सङ्ख्या पनि घट्दै गइरहेको छ । सरकारी अधिकारीहरूका अनुसार भारतमा शनिबार २० लाख चार हजार ३ सय ३३ जना सक्रिय सङ्क्रमित रहेका छन् । दैनिक नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा दैनिक सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै भएकालेपनि अहिले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको हो । भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ३५ हजार ९ सय ३९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

एउटै अवधिमा नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या झण्डै एक लाख धेरै छ । भारतमा पछिल्लो एक दिनमा १७ लाख ५९ हजार ४ सय ३४ जनाको कोरोना परीक्षण गरिएको थियो । अधिकारीहरूका अनुसार भारतमा अहिलेसम्म कुल चार लाख ९३ हजार १ सय ९८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । एजेन्सी