सिन्धुपाल्चोक – खानेपानीमन्त्री उमाकान्त चौधरीले गत असारमा आएको बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनःस्थापना गरी आगामी चैत मसान्तभित्र काठमाडौँ उपत्यकावासीलाई मेलम्चीको पानी वितरण गर्ने गरी कार्य सम्पन्न गर्न ठेकेदार कम्पनी र आयोजनाका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

शुक्रबार आयोजनास्थलको स्थलगत निरीक्षण गर्न मेलम्ची पुगेका मन्त्री चौधरीले चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोका कर्मचारीलाई आमनागरिकको चासोको विषयसमेत रहेको राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको हेडबक्स र आयोजनाका अन्य भौतिक संरचना ठेक्का सम्झौताअनुसार निर्धारित मितिमै द्रुत गतिमा पूरा गर्न निर्देशन दिनुभएको हो ।

परीक्षणको रुपमा सो आयोजनाबाट काठमाडौँ उपत्यकामा पानी आपूर्ति गरिएकामा गत असार १ गते र त्यसपछि मेलम्ची नदीमा आएको बाढीपहिरोले गम्भीर क्षति पु¥याएपछि आयोजनाको पुनर्निर्माण गरी पानी पठान्तरणको काम गर्न सरकारले सिनो हाइड्रोसँग सम्झौता गरिसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले यही माघ ७ गते देशवासीको नाममा सम्बोधन गर्ने क्रममा यसै वर्षभित्र आयोजनालाई पुनः सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

नेपालको संविधानको धारा ३५ (४) बमोजिम प्रत्येक नेपाली नागरिकलाई शुद्ध खानेपानी र सरसफाइ सेवाको पहुँचलाई मौलिक हकको रुपमा संरक्षण गरेअनुसार शुद्ध र गुणस्तरीय खानेपानी नेपाली नागरिकलाई उपलब्ध गराउने जिम्मेवारी पूरा गर्न आफू प्रतिबद्ध रहेको बताउँदै मन्त्री चौधरीले मेलम्ची आयोजनाको पुनःस्थापना गरी काठमाडौँ उपत्यकावासीलाई यस वर्षभित्र मेलम्चीको पानी वितरण गरेरै छाड्ने दृढता जनाउजनुभयो ।
उहाँले आयोजनाको पूर्ण रुपमा सञ्चालन नभएसम्म आफूले स्थलगत अवलोकन गरी हप्तैपिच्छे कार्यप्रगति लिने र मूल्याङ्कन गर्ने बताउनुभयो । मन्त्री चौधरीको प्रत्यक्ष निर्देशनमा ठेकेदार कम्पनीबाट बाढीले मेलम्ची बजारदेखि हेडबक्स रहेको अम्वाथानसम्मको सडक क्षतिग्रस्त हुँदा आयोजनास्थलसम्म पुग्ने अवस्था नरहेकामा शुक्रबारदेखि नै डोजर र स्काभेटरले पहँुच मार्ग निर्माण गर्न सुरु गरिसकेका छन् ।

मन्त्री चौधरीसँगै मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य ब्रजाचार्य, खानेपानी तथा ढल निकास विभागका महानिर्देशक, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पासहितको प्राविधिक टोली सम्मिलित रहनुभएको थियो । रासस