काठमाडौं – पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १५१ दशमलव ६१ अङ्कले गिरावट आएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ७३ दशमलव ५९ अङ्कले बढेर २ हजार ९३१ दशमलव ५९ विन्दुमा पुगेर रोकिएको थियो । यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार ओरालो लाग्दा एक दिन भने सामान्य अङ्कले वृद्धि भएको छ ।

यो साताको पाँच दिनको कारोबारमा नेप्से परिसूचक १५१ दशमलव ६१ अङ्कले घटेर २ हजार ७७९ दशमलव ९८ विन्दुमा झरेको छ । अघिल्लो साता ७३ दशमलव ५९ अङ्कले बढेको नेप्से परिसूचक यो साता भने १५१ दशमलव ६१ अङ्कले गिरावट आएको हो । पछिल्लो ३ साता लगातार रुपमा बढेको नेप्से परिसूचक यो साता भारी अङ्कले गिरावट आएको छ ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १० दशमलव ८३ अङ्कले घटेर २ हजार ९२० दशमलव ५१ विन्दुमा झरेको थियो । तर, नेप्से परिसूचकमा गिरावट आए पनि आइतबार सेन्सेटिभ इण्डेक्स ० दशमलव०६ अङ्कले बढेको थियो भने फ्लोट इण्डेक्स १ दशमलव २७ अङक र सेन्सेटिभ फ्लोट इण्डेक्स ० दशमलव ६३ अङ्कले घटेको थियो । आइतबार कारोबारमा आएका २३२ कम्पनीको १ करोड ४७ लाख ४ हजार कित्ता शेयर ७ अर्ब ३ करोड ८ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यस्तै साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक १०० अङ्को हाराहारीमा गिरावट आएको थियो । उक्त दिन ९९दशमलव ८६ अङकले गिरावट आएर २ हजार ८२० दशमलव ६५ बिन्दुमा झरेको थियो । यसरी सोमबार कारोबारमा आएका २२८ कम्पनीको १ करोड ७० लाख ६३ हजार कित्ता शेयर ८ अर्ब ८८ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मंगलबार भने नेप्से परिसूचकमा सामान्य अङ्कले गिरावट आएको थियो । उक्त दिन परिसूचक ५ दशमलव ५९ अङ्कले घटेर २ हजार ८१५ दशमलव ०६ विन्दुमा झरेको थियो । त्यसैगरी,सेन्सेटिभ इण्डेक्स १ दशमलव ०९ अङ्क, फ्लोट इण्डेक्स ० दशमलव ३७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ० दशमलव २४ अङ्क घटेको थियो । मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार रुपैयाँ बराबरको कोरोबार भएको थियो ।

मंगलबार सामान्य अङ्कले गिरावट आएको नेप्से परिसूचक बुधबार ३८ दशमलव ४२ अंकले घटेर २ हजार ७७६ दशमलव ६१ विन्दुमा झरेको थियो । सेन्सेटिभ इण्डेक्स ६ दशमलव ६ अङ्कले, फ्लोट इण्डेक्स २ दशमलव ८ अङक र सेन्सेटिभ फ्लोट इण्डेक्स २ दशमलव ३४ अङक घटेको थियो । बुधबार कारोबारमा आएका २३३ कम्पनीको ९३ लाख ५८ हजार ७०० कित्ता शेयर ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँ बराबरको खरिद बिक्री भएको थियो ।

तर यता, साताको अन्तिम कारोबारको दिन बिहीबार भने नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ । साताको चार दिनको कारोबारमा लगातार रुपमा ओरालो लागेको परिसूचक सामान्य अंकले वृद्धि भएको हो । बिहीबार परिसूचक ३ दशमलव २९ अङ्कले वृद्धि भएर २ हजार ७६९ दशमलव ९३ अङ्कमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ० दशमलव ३८ अङ्क, फ्लोट इण्डेक्स ० दशमलव ०५ अङ्कले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ० दशमलव २१ अङ्कले घटेको छ । बिहीबार कारोबारमा आएका २२४ कम्पनीको ६६ लाख ५७ हजार २३१ कित्ता शेयर ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६८४ रुपैयाँको शेयर कारोबार भएको छ ।

पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पतिमा पनि गिरावट आएको छ । गतसाता १ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँले बढेको लगानीकर्ताको सम्पति यो साता भने २ खर्ब १३ अर्ब ९० करोड रुपैयाँले गिरावट आएको छ । गत बिहीबार शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कूल ४१ खर्ब ४२ अर्ब ५३ करोड रुपैयाँ रहेको थियो । यो साता २ खर्ब १३ अर्ब ९० करोड रुपैयाँले सम्पति घटेर ३९ खर्ब २८ अर्ब ६३ करोड रुपैयाँमा झरेको छ ।