काठमाडौं – सेयर कारोबारको अन्तिम दिन आज बिहीबार नेप्से परिसूचकमा हरियाली छाएको छ । प्रिओपन सेसनबाट नै बढ्न सुरु गरेको परिसूचक ३ दशमलव ३३ अङ्कले बढेर २७७९ दशमलव ९८ बिन्दुमा पुगी बजार बन्द भएको हो । यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ३८ अङ्कले बढेर ५१८ दशमलव ७२ बिन्दु कायम भएको छ ।

आज बजार बढेसँगै सातवटा समूहका सूचक बढेका छन् भने छवटा समूहका सूचक घटेका छन् । सर्वाधिक ननलाइफ इन्स्योरेन्स समूहको १ दशमलव ०५ प्रतिशतले बढेको छ भने सर्वाधिक होटल्स र पर्यटक समूहको ० दशमलव ६९ प्रतिशतले घटेको छ । बिहीबार कारोबारमा आएका २२४ वटा कम्पनीको ३ अर्ब ३४ करोड ३४ लाख रुपैयाँबराबरको ६६ लाख ७५ हजारभन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज विन नेपाल लघुवित्त र बुद्ध भूमि नेपाल हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीको शेयर मूल्य क्रमशः प्रतिकित्ता १ हजार ३ सय ३८ रुपैयाँ र ५ सय ९ रुपैयाँ कायम भएको छ । यस्तै, सर्वाधिक शेयर कारोबार भने नेसनल लाइफ इन्स्योरेन्सको २० करोड २ लाख कित्ता भएको छ भने शेयर मूल्य प्रतिकित्ता १ हजार १ सय ३१ रुपैयाँ कायम भएको छ ।

गत आइतबार दोहोरो अङ्कले गिरावट आएको बजारले सोमबार पनि निरन्तरता पाएको थियो । आइतबार २९२० दशमलव ५१ बिन्दुमा पुगेर बन्द भएको बजार सोमबार १०० अङ्कले घटेर २८२० दशमलव ४१ बिन्दुमा झरेको थियो । साथै, कारोबार रकम भने आइतबारको तुलनामा सोमबार बढी भएको थियो ।

यस्तै, कारोबारको तेस्रो दिन मङ्गलबार भने झिनो ५ दशमलव ५९ अङ्कले ओरालो लागेको बजार २८१५ दशमलव ०६ बिन्दुमा पुगेर बन्द भएको थियो । बजार घटेसँगै यस दिन कारोबार रकममा पनि गिरावट आएको थियो । अघिल्लो दिन सोमबार ८ अर्ब ८८ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा मङ्गलबार भने ५ अर्ब ३९ करोडमा झरेको थियो ।

यसरी साताको पहिलो दिनबाटै निरन्तर ओरालो लागेको बजारमा बुधबार पनि बढ्ने कुनै छाँटकाँटै थिएन । बुधबार सेयर बजार ३८ दशमलव ४२ अङ्कले घट्यो। यस दिन कारोबार रकम ४ अर्ब ३१ करोडमा झर्दा ९ करोड ३५ लाख कित्ता शेयर खरिदबिक्री भएको थियो ।