इलाम – इलाममा बिहीबार बिहान पिकअप जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आफै अनियन्त्रित भई सडकदेखि करिव पाँच सय मिटर तल झरेको छ । मेची राजमार्गको रोङ गाउँपालिका–४ पहिरोमा पिकअप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

दुर्घटनामा परी झापाको मेचीनगर नगरपालिका–४ वस्ने वर्ष ५५ का रमेश थापा र सोही स्थान बस्ने वर्ष ४० का सुर्यबहादुर थापाको घटनास्थलमा नै मृत्यु भएको हो ।

जिप चालक मेचीनगर–४ बस्ने वर्ष ३३ का अर्जुन कोइरालासमेत गम्भीर घाइते भएको बताइएको छ । उनलाई उपचारका लागि झापाको विएण्डसी अस्पताल लगिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।