काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ४ सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १३ हजार ५ सय ४९ जनाको एन्टिजेन विधिबाट ६ हजार ८ सय १० जना परीक्षण भएको छ । कुल २० हजार ३ सय ५९ नमुनाको परीक्षण गर्दा ८ हजार ४ सय ५४ जनामा कोरोना भाइरस को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


सोही अवधिमा कोरोना भाइरसको सङ्क्रमणको उपचार गराइरहेकामध्ये पाँच जनाको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६ सय ७२ जना पुगेको छ ।
हाल देशभर ९० हजार ६७ जना सक्रिय सङ्क्रमित रहेका छन् । बुधबार ४ हजार ४ सय ३३ जना कोरोना सङ्क्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।