सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही नेतृत्वको सरकार गठन भएको तीन महिना पुग्न थालेको छ । गत वैशाख ३ गते सत्ता गठबन्धन दलभित्र भएको सहमतिअनुसार निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गतकात्तिक १५ गते पदबाट राजीनामा दिएपछि नेपाली कांग्रेसका जीवनबहादुर शाही कात्तिक १६ मा मुख्यमन्त्री बनेका थिए ।

सत्ता गठबन्धन दलभित्रै सहमति हुन नसकेपछि उनको नेतृत्वको सरकारले तीन महिनादेखि पूर्णता पाउन सकेको छैन । लामो समयसम्म मन्त्रालय मन्त्रीविहीन हुँदा काममा प्रभावित हुन थालेको जनाइएको छ । संघीय व्यवस्था कार्यान्वयनको प्रारम्भदेखि राजनीतिक उतारचढावको सुरुआत कर्णालीबाट हुने तर त्यसको अधिकतम टुङ्गो केन्द्रले लगाउनुपर्ने निरन्तरताको क्रमभङ्ग यस पटक पनि हुन सकेन ।

सरकारको पूर्णताका लागि सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बीच पटकपटक छलफल भयो तर उचित निकास निस्केन । सत्तारुढ दल माओवादी केन्द्रले चार, कांग्रेसले मुख्यमन्त्रीसहित तीन र एकीकृत समाजवादी पार्टी तीन मन्त्री पाउनुपर्ने अडानबाट पछि नहट्दा गठबन्धन सरकारले पूर्णता नपाएको जनाइएको छ ।

प्रदेशसभामा माओवादी केन्द्रका १२, कांग्रेसका छ र समाजवादीका तीन सदस्य छन् । सबैले आफ्नो माग पूरा हुनुपर्ने माग राख्दा १० मन्त्री बनाउनुपर्ने हुन्छ तर प्रदेशसभाको कूल सदस्य संख्याको २० प्रतिशतमात्र मन्त्री बनाउन पाइने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् मात्र बन्दछ । यसको अर्को विकल्प छैन ।

संवैधानिक प्रावधानबारे अवगत र मन्त्रालय टुक्र्याउने मामिलामा विकल्पविहीन हुँदा पनि गठबन्धन दलभित्रको अडान कायम रहेपछि मन्त्रिपरिषदले पूर्णता पाउन नगरेको हो । ढिलो भएको जनाइएको छ । धेरै पटकको प्रयासबाट पनि सहमति हुन नसकेका कारण अन्तिम टुङ्गो लगाउने जिम्मा केन्द्रलाई दिइएको मुख्यमन्त्री जीवनबहादु शाहीले जानकारी दिए ।

‘सरकारलाई पूर्णता दिने सवालमा सत्ता गठबन्धन दलभित्र ठूलो छलफल भयो,’ उनले भने, ‘तर परिपक्व निर्णय हुन सकेन । आखिरी समयसम्म पनि सहमति जुट्न नसकेपछि यसको अन्तिम टुङ्गो लगाउने केन्द्रलाई जिम्मा दियौँ ।’ राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्नपछि दुई–तीन दिनभित्र केन्द्रको निर्णय आउने र सरकारले पूर्णता पाउने उनले बताए ।

निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री जीवनबहादुर शाहीले यसको निकास दिन नसकेको टिप्पणी गरे । ‘गत वैशाखमा हामी गठबन्धनबीच भएको सहमतिअनुसार मैले सरकारको नेतृत्व गर्दा तत्कालीन नेकपा एमाले (हालको समाजवादी) र कांग्रेसलाई मिलाएकै थिएँ’, उनले भने, ‘त्यो अग्रसरता हालका मुख्यमन्त्रीले लिनुपर्थ्यो ।’

सत्ता गठबन्धन मिलाउन आफूले त्यतिबेला कांग्रेसको मागलाई पूर्ति गर्दै समाजवादी पार्टीलाई पनि विशेष स्थान दिएर सरकार सञ्चालन गरेको उनले बताए । टुंगो लगाउने जिम्मा केन्द्रलाई दिए पनि माओवादीले चार मन्त्री नछोड्ने जनाउँदै उनले मुख्यमन्त्री जीवनबहादुर शाहीले केही त्याग गरेको भए केन्द्रको निर्णय कुर्नुपर्ने अवस्था नआउने बताए ।

नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक देवी ओलीले संघीयता संरचनामा आए पनि मानसिकतामा नआउँदा हरेक निर्णय केन्द्रकै भरमा बस्नुपर्ने अवस्था आएको टिप्पणी गरिन् । गत वैशाख ३ मा ‘फ्लोर क्रस’ गर्दाको सहमति कार्यान्वयनमा नआएका कारण सरकारले पूर्णता पाउन नसकेको उनले प्रतिक्रिया दिइन् ।

उनले भनिन्, ‘समस्या पर्दा प्रयोग गर्ने तर समाधान भइसकेपछि बिर्सने प्रवृत्तिले कर्णालीमा यो अवस्था आयो । गठबन्धन दलभित्र भएको सहमति अहिले ‘खोलो त¥यो लौरो बिर्सियो’ भने जस्तै भएको छ ।’ पछिल्लो समयमा नेपाली राजनीतिमा इमान्दारिता, विश्वसनीयताको खडेरी हुँदै जाँदा जनताका पक्षमा अपेक्षित काम हुन नसकेको उनको भनाइ थियो ।

केन्द्रको निर्णय कुर्दै बसेको गठबन्धन दलका लागि कर्णाली सरकार पूर्णताको अन्तिम टुङ्गो प्रधानमन्त्री एव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एव पूर्वप्रधानमन्त्री माधव नेपालले लगाउने जनाइएको छ । रासस