साङ्केतिक तस्वीर

मन्थली – बैङ्किङ् कसुरको अभियोग लागेको रामेछापका तोरणबाबु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनबाट बैङ्किङ कसुर मुद्दामा ४० लाख रुपैयाँ जरिवाना र १० दिन कैद तोकिएका अभियुक्त श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले २०७७ जेठ २७ गते अभियुक्त श्रेष्ठलाई बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन कैद र ४० लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । सोही फैसला कार्यान्वयनका क्रममा प्रहरीले रामेछाप जिल्लाको सुनापती गाउँपालिका–५ घर भई हाल काठमाडौं बस्ने ४४ वर्षीय श्रेष्ठलाई मङ्गलबार पक्राउ गर्न सफल भएको छ ।

फरार रहेको अभियुक्त श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी टोलीले मङ्गलबार दिउँसो विशेष सूचनाको आधारमा रामेछापको लुभुघाटबाट पक्राउ गरेको हो । काठमाडौंमा लुक्दै बस्ने गरेका अभियुक्त श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नहुँदा नहुँदै पनि जानी–जानी झुक्याएर पीडितलाई चेक दिएका थिए । चेक बाउन्स भएपछि पीडितले बैंक कसुरमा मुद्दा दायर भै अदालतले फैसला समेत गरेको थियो । फैसला कार्यान्वयनको लागि मङ्गलबार श्रेष्ठलाई रामेछाप जिल्ला अदालतमा पेश गरिने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।