काबुल– तालिवानले अफगानिस्तानको सत्ता आफ्नो कब्जामा लिएपछि अफगानिस्तामा मानव अधिकार तथा मावनीय सङ्कटका विषयमा कुरा गर्न तालिवानका सदस्यहरुले पश्चिमा राष्ट्रका अधिकारीसँग भेटवार्ता गर्न लागेका छन् । उनीहरुले अफगानिस्तानको सत्ता आफ्नो हातमा लिएपछि पहिलोपटक युरोपमा वार्ता गर्न लागेको हो । तालिवान सदस्य र पश्चिमा अधिकारीहरुबीच सोमबार वार्ता सुरु हुनेछ ।

तालिवानी सदस्य र पश्चिमा राष्ट्रका अधिकारीबीच नर्वेमा छलफल हुन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । तीनसम्म हुने भनिएको वार्तामा विशेष गरी अफगानिस्तानमा मानव अधिकार तथा मावनीय सङ्कटका विषयमा छलफल हुने बताइएको छ । अफगानिस्तानले यतिखेर चरम सङ्कट झेल्दै आएको छ । गत सेप्टेम्बरमा अमेरिकी सेना नेतृत्वको नेटो सेनाले अफगानिस्तान छोडेपछि त्यहाँ मानव अधिकार उल्लङ्घन भएको र पछिल्लो पटक चरम खाद्य सङ्कटको सामना गरिरहेको छ । संयुक्त राष्ट्रसंघका अनुसार अफगानिस्तानका ९५ प्रतिशत जनताले पर्याप्त मात्रामा खान पाएका छैनन् ।

तालिवान र पश्चिमा राष्ट्रका अधिकारीहरुबीच हुने भनिएको बैठकको विरोध गर्दै युरोपका विभिन्न स्थानमा प्रदर्शन समेत भएका छन् । तालिवानप्रति आक्रोस पोख्दै आलोचकहरुले बैठकको बहाना बनाएर मानव अधिकारको उल्लङ्घन गर्नेे तालिवानलाई ‘पुरस्कृत’ गर्न खोजिएका आरोप लगाएका छन् । आइतबार तालिवान सदस्यहरुले मानव अधिकार अभियन्ताहरुसँग भेट गरेका थिए, सो भेटमा के के कुरा भए त भन्ने बारे बाहिर सावर्जनिक भएको छैन । अधिकारकर्मी जमिला अफगानीले भेटमा ‘आशावादी’ छलफल भएको कुरा अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीसँग बताएकी छन् ।

तालिवानले अमेरिकी बैंकमा फ्रिज भएको अर्बौं डलरमा आफूहरुको पहुँच दिन आग्रह गर्ने जनाइएको छ । तात्कालिन राष्ट्रपति घानीको सत्ता ढगमगाएपछि नाटकीय रुपले तालिवान अफगानिस्तानको सत्तामा आएसँगै मानव अधिकारको चरम उल्लङ्घन, खाद्य सङ्कट, बेरोजगारी र उच्च मूल्यवृद्धि जस्ता समस्यामा जकडिएको छ ।

अफगानी मुद्राको मूल्यमा भारी गिरावट आएको छ भने बैंकहरुले निकाल्न मिल्ने रकमको सीमा तोकेका छन् । संयुक्त राष्ट्रसंघले ५५ प्रतिशत अफगानहरु भोकमरीको जोखिममा रहेको चेतावनी दिएको छ ।