फाइल तस्वीर

भक्तपुर – भक्तपुरमा कोरोना सङ्क्रमितको ‘ग्राफ’ उकालो लागेको छ । पछिल्लो सयम जिल्लामा दैनिक ५ सयभन्दा धेरै सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आइतबार २ सय ५८ पुरुष र २ सय ७२ महिला गरी ५ सय ३० जना नयाँ सङ्क्रमित थपिएका छन् । त्यस्तै, यही माघ ८ गते शनिबार ९ सय ६८, ७ गते ६ सय २७, ६ गते ५ सय ६४ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो ।

सङ्क्रमितको संख्या बढेसँगै जिल्लामा सक्रिय सङ्क्रमितको संख्या समेत ह्वात्तै बढेको छ । जिल्लामा आइतबारसम्म सक्रिय सङ्क्रमितको संख्या चार हजार नजिक पुगेको छ । कुल सक्रिय सङ्क्रमितको संख्या तीन हजार ९ सय ९८ पुगेको हो । तीमध्ये पुरुष दुई हजार ७० र महिला एक हजार ९ सय २८ जना रहेका छन् ।

जिल्लामा चार नगरपालिकामध्ये सबैभन्दा धेरै मध्यपुरथिमिमा एक हजार १ सय ४७ सक्रिय सङ्क्रमित छन् । तीमध्ये ५ सय ८९ पुरुष र ५ सय ५८ महिला छन् । मध्यपुरथिमिमा आइतबार मात्रै २ सय २ जना सङ्क्रमित थपिएका थिए । त्यस्तै, सूर्यविनायकमा एक हजार ६२, भक्तपुरमा ७ सय ६५ र चाँगुनारायण नगरपालिकामा ४ सय ६१ र अन्य २ सय ७४ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सक्रिय सङ्क्रमितमध्ये ३१ संस्थागत आइसोलेसन तथा अस्पतालमा र २३ जना सामान्य आइसोलेसनमा उपचाररत छन् । त्यस्तै, एचडीयूमा चार, आईसीयूमा तीन र भेन्टिलेटरमा एकजनाको उपचार भइरहेको छ । जिल्लाका विभिन्न अस्पतालमा सामान्य आइसोलेसन २ सय ५६ शय्या, एचडीयू १ सय १७ शय्या, आईसीयू ३५ र भेन्टिलेटर १६ छन् ।

यसैगरी, जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय ६० पुगेको छ । यही माघ ८ गते एक सङ्क्रमितको मृत्युसँगै जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय ६० पुगेको हो । रासस