सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका –६ शनिहल लाइनस्थित एसके मोबाइल मर्मत केन्द्रबाट लागुऔषध बरामद गरेको छ । ब्राउन सुगरको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको टोलीले आइतबार लागऔषधसहित मोबाइल मर्मत केन्द्रका सञ्चालक २७ वर्षीय सुनिल खत्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीले खत्रीको साथबाट १ सय ४० मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ । यसैगरी प्रहरीले वीरेन्द्रनगर नगरपालिका ८ सुर्खेत कुईनेपानी जङ्गलमा अवैध लागुऔषध ब्राउन सुगर कारोबार गर्दै गरेको अवस्थामा आइतबार अर्का एक युवालाई पनि पक्राउ गरेको छ ।

ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थसहित तिला गाँउपालिका ५ जुम्ला निवासी २६ वर्षीय दीपक बुढालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।