रुस र अमेरिकाबीच युक्रेनको विषयलाई लिएर तनाव बढिरहेको छ । यी दुई देशबीच तनाव कमगर्ने भन्दै हिजो अमेरिकी विदेशमन्त्री र रुसी विदेशमन्त्रीबीच संवाद भएको थियो । युक्रेनको विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिभिर पुटिनबीच पनि एक महिना अघि टेलिफोन संवाद भएको थियो ।

युक्रेन र रुसबीचको बढ्दो तनावलाई लिएर अमेरिकाले युक्रेनमा अहिले अमेरिकी सैन्य सहायता पठाएको छ । युक्रेनका लागि संयुक्त राज्य अमेरिकाले २० करोड डलरको सुरक्षा सहयोग प्याकेज अन्तर्गतको पहिलो ढुवानी ‘कीभ’ आइपुगेको त्यहाँको अमेरिकी दूतावासले जनाएको छ ।

युक्रेन र यसका पश्चिमी सहयोगीहरूले युक्रेनसँगको सिमानामा जम्मा भएका दशौं हजार रूसी सेनाको चिन्ताका बीच यस हप्ता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको कीभ भ्रमणपछि सैन्य सहायता उपलब्ध गराएको हो । रुसले नयाँ सैन्य आक्रमणको योजनालाई बारम्बार अस्वीकार गर्दै आएको छ ।

अमेरिकाले युक्रेनको लागि गत डिसेम्बरमा २० करोड डलरको प्याकेज स्वीकृत गरेको थियो । सम्भावित रुसी आक्रमणविरूद्ध संयुक्त राज्य अमेरिकाले युक्रेनको सशस्त्र सेनालाई युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने निरन्तर प्रयासमा सहयोग गर्न यस्तो सहयोग जारी राख्ने दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेको थियो । अमेरिकाले उपलब्ध गराएको सैन्य सहयोगप्रति युक्रेनका रक्षामन्त्रीले अमेरिकालाई धन्यवाद दिएका छन् ।

यसैबीच इस्टोनिया, लाटभिया र लिथुआनियाका बाल्टिक राष्ट्रहरूले युक्रेनमा अमेरिकी निर्मित एन्टिट्याङ्क र एन्टी–एयरक्राफ्ट मिसाइलहरू युक्रेनमा पठाउनेछन् जसलाई ब्लिन्केनले वासिङ्टनले पूर्णरूपमा समर्थन गरिरहेको बताएका छन् । उनले भनेका छन् ‘मैले छिट्टै अधिकार दिएको छु र हामी नाटो सहयोगी इस्टोनिया, लाटभिया र लिथुआनियाले युक्रेनलाई रूसको अप्रत्याशित र गैरजिम्मेवार आक्रामकता विरुद्ध आफ्नो रक्षा गर्ने क्षमतालाई बलियो बनाउनका लागि प्रदान गर्दै आएको रक्षा उपकरण हस्तान्तरणको पूर्ण समर्थन गर्दछौं’, उनले ट्वीट गर्दै, ‘युक्रेनलाई उनीहरूको लामो समयदेखिको समर्थनका लागि हामी उनीहरूलाई सलाम गर्छौं’ भनेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले यसै हप्ताको सुरुमा युक्रेनलाई पश्चिमी हतियार आपूर्ति अत्यन्त खतरनाक भएको भन्दै उनीहरूले ‘तनाव कम गर्न केही नगर्ने’ प्रतिक्रिया दिएका छन् ।

युक्रेनलाई नाटोको सदस्य बनाउन नहुने, कुनै गठबन्धन हतियारहरू रूसी सीमाना नजिक तैनाथ गर्न नहुने र नाटोले मध्य र पूर्वी युरोपबाट आफ्ना सेनाहरू फिर्ता गर्नुपर्ने रुसले भन्दै आएको छ । अमेरिका लगायत युक्रेनी पश्चिमाहरुले रुसको मागलाई अस्वीकार गर्दै आएका छन् ।

अमेरिकी विदेशमन्त्री ब्लिन्केन र रुसी विदेशमन्त्री सर्गेई लाभरोभबीच शुक्रबार भएको भेटवार्ता युक्रेनको विषयलाई लिएर दुई देशबीचको तनाव कम गर्ने विषयमै खास कुनै ठोस निष्कर्ष निस्कन नसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।