फाइल तस्वीर
काठमाडौं – नेपालले आगामी महिनामा हुने आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर अघि चार राष्ट्र सहभागी टी–२० सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले जनाए अनुसार चार राष्ट्र सहभागी टी–२० सिरिज खेल्ने चार टिममा नेपाल, ओमान,यूएई र आयरल्याण्ड रहेका छन् । टी–२० ग्लोबल क्वालिफायरको तयारी स्वरुप यो सिरिज हुन लागेको क्यानले बताएको छ । यस सिरिजका खेलहरुले टी–२० अन्तर्राष्ट्रिय मान्यता पनि पाउने छन् ।

नेपालले पहिलो खेल फेब्रुअरी ११ तारिख (माघ २८ गते) शुक्रबार ओमानसँग खेल्नेछ भने दोस्रो खेल फेब्रुअरी १२ (माघ २९ गते) शनिबार यूएई र फेब्रुअरी १४ ( फागुन २ गते सोमबार) आयरल्याण्डसँग भिड्ने तालिका रहेको छ ।

टी–२० विश्वकपको ग्लोबल क्वालिफायर फेब्रअरी १७ देखि २५ सम्म ओमानमै हुनेछ । क्वालिफायरको ‘ए’ अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले ओमान, फिलिपिन्स र क्यानडासँग खेल्ने क्यानले जनाएको छ ।

यस्तै अर्को समूहमा आयरल्याण्ड, यूएई, जर्मनी र बहराइन छन् । दुवै समूहको शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनल विजेता टिम फाइनल प्रवेश गर्नेछन् र अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा पनि छनोट हुनेछन् ।