अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन र रुसी समपक्षी सर्गेइ लाभरेभबीच वार्ता भएको छ । यी दुई मन्त्रीबीच युक्रेनको विषयलाई लिएर आज वार्ता भएको हो । युक्रेनको विषयलाई लिएर पछिल्लो समय अमेरिका र रुसबीच तनाव बढिरहेको अवस्थामा त्यसलाई न्यूनीकरण गर्ने प्रयासका रुपमा दुवै देशका विदेशमन्त्रीबीच सम्बाद भएको छ । दुवै देशका विदेशमन्त्रीले युक्रेनको विषयलाई लिएर थप तनाव भन्दै खुला र प्रष्ट रुपमा बार्ता भएको समाचारमा जनाइएको छ ।

अमेरिका र रुसबीच युक्रेनको सीमा नजिक रुसले एक लाखको हाराहारीमा आफ्नो सैन्यदस्ता तैनाथ गरेको विषयलाई लिएर विवाद भएको थियो । रुसले युक्रेनमाथि आक्रमण गर्न सैनिक बल बढाएको भन्ने अमेरिकाले आरोप लगाउँदै आएको छ । रुसले भने त्यसको खण्डन गर्दै आएको छ ।

रुसी विदेशमन्त्री लाभरोभले सीमामा सैनिक तैनाथ गरिनु युक्रेनमाथि आक्रमणका लागि नरहेको जिकिर गरेका छन् । अमेरिकी विदेशमन्त्री ब्लिंकनले युक्रेनमाथि रुसले कुनै पनि प्रकारको सैन्य हमला गरेमा अमेरिकाले गम्भीर जवाफ दिने चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन् ।
युक्रेनको पूर्वी क्षेत्रको ठूलो भागमाथि विगत ८ वर्षदेखि रुसी समर्थित बिद्रोही समूहले आफ्नो नियन्त्रणमा लिएका छन् । रुसले उनीहरुलाई सहयोग गर्दै आएको अमेरिकी आरोप छ । पूर्वी युक्रेनमा ८ वर्षअघि भएको युद्धमा झण्डै १४ हजार मानिसको ज्यानुको साथै २० लाखभन्दा बढि मानिस बिस्थापित भएका थिए ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा राष्ट्रसँग युक्रेनलाई नेटोमा सामेल हुनबाट रोक्न माग गरेका छन् भने पश्चिमा राष्ट्रहरुले युक्रेनलाई नेटोमा जोड्ने प्रयास गरिरहेका छन् । युक्रेनलाई नेटोमा सामेल गराए त्यहाँ युद्ध हुन सक्ने विश्लेषण गरिएको छ ।

रुसले युक्रेनमाथि सैन्य गतिविधि गरेमा अमेरिका र उसका सहयोगी राष्ट्रहरुले रुसमाथि नयाँ प्रतिबन्ध लागु गर्ने चेतावनी समेत दिएका छन् । अमेरिकाले आफ्नो धारणा कागजी रुपमा स्पष्ट गर्ने छ र दुवै देशबीच पुनः अर्को हप्ता थप वार्ता हुने जनाइएको छ ।