काठमाडौं – नेपालमा शुक्रबार पछिल्लो २४ घण्टामा १० हजार ७ सय ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा पीसीआर विधिबाट १८ हजार ६सय १८ जनाको र एन्टिजेन परीक्षण विधिबाट ४ हजार ४ सय ७४ जनाको कोरोना भाइरसको सङ्क्रमण भए नभएको परीक्षण भएको थियो ।


मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६ सय ३५ पुगेको छ । आज ७६६ जना कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हाल देशभर ६५ हजार ३७४ जना सक्रिय सङक्रमित रहेका छन् ।


पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ हजार २९९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ४ हजार २ सय ७९ जना, ललितपुरमा ५६७ जना र भक्तपुरमा ४५३ जना सङ्क्रमित थपिएका छन् ।