काठमाडौं— नेपालमा माघको तेस्रो सातासम्म कोरोना भाइरसको सङ्क्रमण उच्च विन्दुमा पुग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशका सबै ७७ वटै जिल्लाहरुमा कोरोना भाइरसको सङ्क्रमण फैलिसकेको छ । मन्त्रालय गरेको प्रक्षेपण अनुसार माघको तेस्रो सातादेखि दैनिक २० हजार जनाभन्दा बढी मानिसहरु कोरोना भाइरसबाट सङ्क्रमित हुनेछन् । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण ९० प्रतिशत मानिसहरुमा पैmलन सक्ने आङ्कलन छ ।

मन्त्रालयका अनुसार माघको तेस्रो सातादेखि दैनिक २० हजारभन्दा बढी सङ्क्रमित हुन सक्ने अनुमान गरिएको छ । हाल भइरहेको पीसीआर तथा एन्टिजेन परीक्षणको आधारमा मन्त्रालयले तेस्रो सातासम्म सङ्क्रमण दर उत्कर्षमा पुग्न सक्ने बताएको छ । हिजो बिहीबार नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै १२ हजार ३ सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । देशका ७७ वटा जिल्लामा फैलिएको कोरोना सङ्क्रमण सबैभन्दा धेरै काठमाडौं उपत्यका हो । जहाँ हिजो एकैदिन सात हजारभन्दा धेरै मानिस सङ्क्रमित भएका र सबैभन्दा कम सङक्रमित भएको जिल्ला कालिकोट, मुस्ताङ र तेह्रथुम रहेका छन् । कालिकोट, मुस्ताङ र तेह्रथुम जिल्लामा एक/एक जना सङ्क्रमित भेटिएको तथ्याङ्क छ ।

मन्त्रालयले गरेको प्रारम्भीक अनुमानलाई आधार मान्ने हो भने कोरोना भाइरसको सङ्क्रमण माघको तेस्रो साता उच्चविन्दुमा पुग्ने सङ्क्रमण त्यसपछि विस्तारै घट्दै जाने र चैत्र मसान्तसम्ममा नियन्त्रणमा आउने छ । नेपालमा कोरोना महामारीको पहिलो चरणमा भन्दा दोस्रो चरणमा धेरै मानिस सङ्क्रमित भएका थिए भने मानवीय क्षति पनि दोस्रो चरणमा बढि भएको तथ्याङ्क छ । दोस्रो चरणमा सङ्क्रमण दर उत्कर्षमा पुग्दा अस्पतालमा विरामी राख्ने ठाउँको अभाव थियो,, एचडीयू, आईसीयू, भेन्टिलेटरमा कोरोना सङ्क्रमित विरामीको उपचार गर्नै समस्या देखिएको थियो । दोस्रो चरणको मुख्य समस्या भनेको अक्सिजनको चरम अभाव थियो । अक्सिजन अभावका कारण धेरै सङ्क्रमितहरुले मृत्यु वरण गर्नु परेको यथार्थ सरकारसँग छ । आम नागरिकहरु उपचारको लागि यता उता भौतारिंदा भौतारिंदै जीवन गुमाएका सयौं उदाहरण भेटिए दोस्रो चरणको कोरोना महामारीमा ।

अहिले देशमा कोरोना कहर तेस्रो चरणमा प्रवेश गरिसकेको छ । दैनिक सङ्क्रमित हुनेको सङ्ख्या दु्रतगतिमा बढेको तथ्याङ्कले देखाएको छ । दोस्रो चरणको दुःखत् अवस्था नदोहोरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको दावी छ । कोरोनाको तेस्रो चरणसँग जुध्न स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा राखिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । मन्त्रालयको कुरालाई आधार मान्ने हो भने माघको तेस्रो सातासम्म करिब १३ हजारभन्दा बढि सङक्रमितहरुलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था हुन सक्छ । यीमध्ये ९ हजार ८ सय ४८ जनामा सामान्य लक्षण मात्रै देखिने हुन्छन् । करिब १ हजारको हाराहारीमा गम्भीर विरामीको लक्षण देखिने र करिब ४ सय जना गम्भीर बिरामी हुन सक्ने प्रारम्भीक अनुमान छ ।


तेस्रो चरणको लागि तयारी के छ त ?
सरकारले देशका सबै सात वटै प्रदेशमा आठ हजार दुईसय आइसोलेशन शैया तयारी अवस्थामा राखेको मन्त्रालयको भनाइ छ । मन्त्रालय अन्तगर्त ७८ वटा अस्पतालहरुमा कोभिड–१९ केयर युनिट सञ्चालनमा रहेका छन् । मन्त्रालयका अनुसार तीन हजार ८ सय ४६ वटा एचडीयु शैयाको व्यवस्था गरिएको छ भने दुई हजार सात सय ९७ वटा आइसीयु तयारी अवस्थामा राखिएका छन् । त्यसैगरी एक हजार ८ वटा भेन्टिलेटर, १३ हजार ९ सय ३९ वटा अक्सिजन सिलिण्डर रहेका छन् अक्सिजन कन्सनट्रेटर ६ सय ९३ रहेको छ ।


दोस्रो चरणको कोरोना महामारीमा अक्सिजन अभावले धेरैको ज्यान गएको कुरालाई दृष्टिगत गर्दै सरकारले अस्पतालहरुले अक्सिजन प्लान्ट राख्नै पर्ने बनाएपछि अहिले मुलुकभर ९८ वटा अक्सिजन प्लान्ट र २५ वटा ट्याङ्क निर्माण भैसकेको मन्त्रालयको भनाइ छ ।