काठमाडौं– पहेंलो धातु सुनको मूल्य वृद्धि हुने क्रम जारी छ । माघ महिना सुरु भएदेखि नेपाली बजारमा सुनको मूल्य बढ्न थालेको थियो । अन्तर्राष्ट्रिय बजारमा समेत यतिखेर सुनको मूल्यमा केही वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८४०.६३ र चाँदी २४.४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । नेपालमा पनि एक सातामै सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपालमा शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ८ सय रुपैयान् र तेजाबी सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । माघ २ गते आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

एक साताभित्रै चाँदीको मूल्य पनि प्रतितोलामा ७५ रुपैयाँ बढेको छ । आइतबार १ हजार २ सय ५० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार १ हजार ३ सय २५ रुपैयाँ पुगेको हो ।