काठमाडौं— कीर्तिपुर नगरपालिका क्षेत्रबाट अनलाइन जुवा खेलाइरेको अवस्थामा प्रहरीले १२ जना युवा युवतीहरुलाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनीहरुलाई गिरफ्तार गरेको हो । लामो अनुसन्धान पछि अनलाइनमार्फत् जुवा खेलाएको अवस्थामा प्रहरीले उनीहरुलाई पक्रन सफल भएको हो । एक महिनामा एक लाख डलरसम्मको जुवा खेलाएको प्रहरीको प्रारम्भीक अनुमान छ ।


कीर्तिपुर नगरपालिकामा पर्ने चोभार, नगाउँ र बागभैरबस्थित विभिन्न घरहरूमा प्रहरीले खानतलासी गर्दा अनलाइन जुवा खेलाइरहेको अवस्थामा उनीहरू रङ्गेहात पक्राउ परेको प्रहरीले बताएको छ । प्रहरीले जुवा खेलाउन प्रयोग गरिएको ल्यापटप, मोबाइल फोनलगायतका उपकरणहरूसमेत बरामत गरेको छ ।


अनलाईनमार्फत् जुवाखेलाएको अभियोगमा पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका ६ चोभार बस्ने ३३ वर्षीय सुजेन्द्र थापा, वडा नम्बर ६ बस्ने १७ वर्षीय मनिष थापा, १७ वर्षीय समिर थापा, २७ वर्षीय कविता थापा, ३० वर्षीय रविन खड्का, कीर्तिपुर वडा नम्बर १० बस्ने ४५ वर्षीय बुद्ध महर्जन, १९ वर्षीया हनिशा महर्जन, वडा नम्बर ८ बस्ने २० वर्षीया रोजा महर्जन र १९ वर्षीय साहिल महर्जन, वडा नम्बर ९ बस्ने ३५ वर्षीय प्रदीपमान सिंह बस्नेत, वडा नम्बर ५ बस्ने १९ वर्षीय विनोद ठगुन्ना र १७ वर्षीय रमादेवी श्रेष्ठ रहेका छन् ।

पक्राउ परेका मध्ये सुजेन्द्र थापा, प्रदीपमान सिंह बस्नेत र बुद्ध महर्जनले अनलाइन जुवा खेलाउन सम्पूर्ण तयारी मिलाई ३ वटा घरमा २४ सै घण्टा सिफ्टवाइज कर्मचारीसमेत राखेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसरी राखिएका कर्मचारीले फेसबुकबाट अमेरिकी र युरोपेली नागरिकलाई साथी बनाई अनलाइन जुवा खेल्ने लिङ्क शेयर गरी अमेरिकन डलर लोड गर्न लगाई गेम खेलाउने गरेको पाइएको प्रहरीले बताएको छ ।


उनीहरूले विगत १० महिनाअघि देखि महिनाको करिब १ लाख अमेरिकी डलरभन्दा बढी रकम हारजित हुने गरी जुवा खेलाउने गरेको समेत खुल्न आएको छ । पक्राउ परेका १२ जनालाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।