काठमाडौं– नेपालमा कोरोना भाइरसको सङ्क्रमण फैलिनेक्रमले नयाँ रेकर्ड बनाउँदै गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप १२ हजार ३३८ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । यो सङ्ख्या अहिलेसम्मकै उच्च हो । पछिल्लो २४ घण्टामा २१ हजार ७ पीसीआर तथा ६ हजार ४ सय ९० एन्टिजेन विधिबाट कोरोना भाइरसको सङ्क्रमण भए नभएको परीक्षण भएको थियो । कुल २७ हजार ४ सय ९७ जनाको परीक्षण हुँदा १२ हजार ३३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका कोरोना भाइरसको सङ्क्रमणका कारण बिरामी भएका मध्ये आज ४ जनाको मृत्यु भएको छ । यो सङ्ख्यासँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६३२ जना पुगेको छ ।

यस्तै आज ६४९ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । हाल देशभर ५७ हजार ३२८ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ हजार ९ सय ८१ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । मुलुकभर सङ्क्रमित भएका मध्ये आधाभन्दा बढी उपत्यकामै रहेको तथ्याङ्कले देखाएको छ । काठमाडौंमा ५ हजार १ जना, ललितपुरमा १ हजार १३० जना र भक्तपुरमा ८ सय ५० जना सङ्क्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।